११ माघ २०८१, शुक्रवार

24th, January 2025, Friday

Aaawajonline.com

यस वर्ष क-कसले पाए नोबेल पुरस्कार ?

२६ असोज २०८०, शुक्रवार आवाज संवाददाता
आवाज संवाददाता

२६ असोज २०८०, शुक्रवार

 प्रत्येक वर्ष भौतिक शास्त्र, रसायनशास्त्र, चिकित्सा शास्त्र, साहित्य र शान्ति गरी छ विधामा प्रदान गरिने नोबेल पुरस्कारका  विजेताहरू घोषणा भइसकेका छन् । नोबेल पिस अर्गानाइजेसनका अनुसार सन् १९०१ देखि  सन् २०२२ बिचमा नोबेल पुरस्कार र अल्फ्रेड नोबेलको सम्झनामा स्वीडनको केन्द्रीय ब्याङ्कले दिने पुरस्कार गरेर ६ सय १५ पटक कुल ९ सय ८९ व्यक्ति र संस्थाहरूलाई प्रदान गरिएको छ ।

 

वर्षभरि मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई प्रत्येक वर्ष नोबेल पुरस्कार प्रदान गरिन्छ ।  स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू सन् १९०१ देखि प्रदान गरिने गरी स्थापना गरेका थिए । उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए ।  सोही अनुसार यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिक द्वय डा। क्याटलिन कारिको र डा। ड्रु वाइसमानलाई संयुक्त रूपमा दिइने भएको छ ।

 

कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत उनीहरूलाई पुरस्कार दिइएको हो । स्वर्ण पदक र संयुक्तरुपमा १० लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । गत वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी अनुसन्धानमा संलग्न स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई दिइएको थियो । योसँगै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक योन फोस्सलाई प्रदान गरिएको छ ।

 

नभनिएका वा भन्न नसकिने कुरालाई प्रयोगात्मक नाटक तथा गद्यबाट आवाज दिएका कारण फोस्सलाई पुरस्कृत गरिएको नोबेल पुरस्कार कमिटीले जनाएको छ । नोबेल साहित्य पुरस्कार विजेताले ९ लाख ९७ हजार अमेरिकी डलर र पदक प्राप्त गर्नेछन् । गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो ।

 

साथै यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई दिइने भएको छ । महिला श्रम बजारका परिणामबारे हाम्रो बुझाइलाई परिष्कृत गरेकोमा गोल्डिनलाई नोबेल अर्थशास्त्र पुरस्कार दिने घोषणा गरिएको हो । गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले जनाएको छ । अर्थशास्त्रतर्फको नोबेल विजेताले ९ लाख ९७ हजार अमेरिकी डलर र पदक प्राप्त गर्नेछन् ।

 

गत वर्ष बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कार दिइएको थियो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ  ।  पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी उनलाई यसै वर्ष संयुक्त राष्ट्रसंघले प्रेस स्वतन्त्रता पुरस्कार दिएको थियो । ५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छन् ।

 

विभिन्न मुद्दामा पटक–पटक जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा जेल परेकी हुन्  । क्वान्टम डट्स को खोजी तथा संश्लेषणमा संलग्न वैज्ञानिकहरू मौंगी जी बावेन्डी, लुई ई ब्रस र अलेक्सेई आई इकिमोभलाई  यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।

 

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ । त्यसैगरी  सुक्ष्म समय पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि  अमेरिकी वैज्ञानिक पिएरे अगस्टिनी, जर्मन वैज्ञानिक फेरेन्ट्स क्राउस र स्विडिस वैज्ञानिक एन लहुलिएलाई यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा भएका छन्  ।